काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाको ५० लाख सहयोग
काठमाडौं – काठमाडौं महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माणका लागि ५० लाख अनुदान सहायता उपलब्ध गराएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मंगलबार एक कार्यक्रमकाबीच काष्ठमण्डप पुनर्निर्माण समितिलाई अनुदान सहायता स्वरुप ५० लाखको चेक हस्तान्तरण गर्नु भएको हो ।
त्यसक्रममा उहाँले काष्ठमण्डप पुनर्निर्माणको काममा कहीँ कतै पनि अवरोध गर्न नहुनेतर्फ सचेत गराउनुभयो । उहाँले २ वर्षभित्रै काष्ठमण्डप पुनर्निर्माणको काम सम्पन्न गर्न पनि समितिको ध्यानाकर्षण गराउनुभयो ।
समितिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, काठमाडौं महानगरपालिकासँग आवश्यक परामर्श लिई पुनर्निर्माणको कामलाई गति दिने मेयर शाक्यले विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौं महानगरपालिकाको गएको जेष्ठ २४ गते बसेको बैठकले काष्ठमण्डप पुनर्निर्माणको लागि ५० लाख अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार मंगलबार अनुदान सहायता काष्ठमण्डप पुनर्निर्माण समितिलाई हस्तान्तरण गरिएको हो ।
ऐतिहासिक, पुरातात्विक महत्वको काष्ठमण्डपलाई पुरानै स्वरुप, शैली र संरचना अनुसार निर्माण गर्ने समझदारी गरिएको छ । समितिले काठमाडौं महानगरपालिकासँग भएको सहमति अनुसार काष्ठमण्डपको पुनर्निर्माण कार्य ३ वर्ष भित्रै सम्पन्न गर्नु पर्नेछ ।
समितिले काष्ठमण्डपको पुनर्निर्माणका लागि आर्थिक उपसमिति, विज्ञहरु र सल्लाहकारसमेत रहेको विभिन्न उपसमिति गठन गरी आफ्नो कामलाई यसअघि नै अगाडि बढाइसकेको छ ।
स्थानीयको सहभागितामा पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको काष्ठमण्डपको पुनर्निर्माण तोकिएको समयअघि नै सम्पन्न गर्ने समितिको प्रतिवद्धता छ ।
Source: Ujyaalo Online जेठ २९, २०७५ मंगलबार १७:४४:३८